News & Events
फेदीखोला गाउँपालिका एक परिचय
उत्तरपूर्वी भागमा कास्की जिल्ला, दक्षिण क्षेत्रमा पुतलीबजार नगरपालिका र पश्चिममा आँधीखोला गाउँपालिकासँग सिमाना जोडिएको फेदीखोला गाउँपालिका स्याङ्जा जिल्ला प्रवेशद्वारको रूपमा चिनिएको गाउँपालिका हो। सामुन्द्रिक सतहबाट ७६६ मि. देखि २१३६ मी. सम्म फैलिएको यस गाउँपालिकाको क्षेत्रफल ५६.७३ वर्ग किलोमिटर रहेको छ।
देशको आर्थिक र व्यवसायिक रूपमा अति महत्वपूर्ण मानिएको सिद्धार्थ करिडोरको अभिन्न अंगको रूपमा रहेको यस पालिकाको मध्य भागबाट १२ किलोमिटर दुरी सिद्धार्थ राजमार्गले चिरेको छ। पोखरा महानगरमा जनघनत्व तथा बजारीकरणले तिव्रता पाउँदै गर्दा उक्त नगरलाई निकट भविष्यमा आवश्यक पर्ने स्याटलाईट सिटीको सम्भावनाको रूपमा फेदीखोला गाउँपालिकालाई हेरिएको छ। गाउँपालिकाले जिल्लाको आर्थिक देखि सडक यातायात, सामाजिक देखि धार्मिक, कृषि देखि पर्यटन क्षेत्रमा सामरिक महत्व राख्दछ। राज्यको पुनसंरचनापछि नेपाल सरकारले मिति २०७३/११/२७ गते घोषणा गरे अनुसार देशको संघीय पुर्नसंरचना अनुसार स्याङ्जा जिल्लामा बाँगेफड्के, भाटखोला, आरुखर्क र फेदीखोला गाउँ विकास समितिहरूलाई समेटेर फेदीखोला गाउँपालिका बनेको हो। ५ वटा वडा रहेको गाउँपालिकाको कुल क्षेत्रफल ५६.७३ वर्ग कि.मी. रहेको छ। फेदीखोला गाउँपालिकाले गरेको घरधुरी सर्भेक्षण २०७७ अनुसार पालिकामा ३,२४८ घरधुरी र जनसंख्या १४,९९९ जना रहेको छ। जसमध्ये पुरूष ७७२१, महिला ७२७८ रहेका छन्। २०६८ को जनगणना अनुसार यस गाउँपालिकाको ३२५४ घरधुरी र १२, ३४१ जनसंख्या रहेको छ। जसमध्ये, ५२५९ जना पुरूष र ७०८२ जना महिला रहेको छ।
सिद्धार्थ राजमार्गको दाँया बाँया भएर जाने कुभिण्डे-मट्टिखान, खड्केतारी-पञ्चासे, सर्केतारी-आरूखर्क लगायतका अन्य सहायक सडकहरूले फेदीखोला केन्द्रलाई जोडी गाउँपालिकाका सबै वडाका जनताहरूलाई सदरमुकामसम्म पहुँचको व्यवस्था मिलाएको छ।
